रासायनिक मल खरिदकाे लागि अर्थले दियो १२ अर्ब ७६ करोडको स्वीकृति


काठमाडौं – अर्थमन्त्रालयले आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न पौने १३ अर्ब रुपैयाँ बढीको स्रोत सुनिश्चित गरेको छ।  कृषि मन्त्रालयले करिब एक लाख ४२ हजार मेट्रिकटन रासायनिक मल खरिदकाे लागि गरेकाे प्रस्तावमा अर्थमन्त्रालयले स्वीकृति जनाएकाे हाे।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार, ‘आगामी वर्षको बजेटबाट सम्बोधन हुनेगरी १२ अर्ब ७६ करोड रुपैयाँको स्रोत सुनिश्चितताको पत्र आएको छ, बजेटपछि मल आयातको प्रक्रिया थाल्दा ढिलाइ हुने भएपछि अहिल्यै टेन्डर गर्नेगरी उक्त रकम सुनिश्चित भएको छ।’

उनले भने, ‘कृषि सामग्रीलाई ७० र साल्टलाई ३० प्रतिशत खरिद अनुमति दिने सम्झौता अनुसार ७५ हजार मेट्रिकटन मल आयातको ठेक्का सूचना निकालिएको छ। थप ६७ हजार मेट्रिकटन मल आयातका लागि फेरि सूचना जारी गरिने मन्त्रालयले जनाएकाे छ।

केही समयअघि मन्त्रालयकै प्रस्तावमा अर्थले मल खरिदको स्रोत सुनिश्चितताकै लागि ११ अर्ब ७५ करोड रुपैयाँ दिने सहमति दिएको थियो । उक्त रकम भने भारतसँग भएको जीटूजी सम्झौता अनुसारको मल खरिदका लागि खर्च गरिने मन्त्रालयको भनाइ छ ।

जीटूजीको एक लाख ५० हजार र ग्लोबल टेन्डरबाट खरिद हुने एक लाख ४२ हजार गरी अर्को वर्ष कुल २ लाख ९२ हजार मेट्रिकटन मल आयात सुनिश्चित गर्न खोजिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया