मानव बेचबिखनको मुद्दामा २२ वर्ष जेल सजाय सुनाइएका श्रीमान्, श्रीमती नै पक्राउ


काठमाडौँ – मानव बेचबिखन तथा अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले जेल र जरिवाना सजाए तोकेका दम्पति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरपालिका १३ बस्ने ४२ वर्षका रामजी पासवान र उनकी श्रीमती ३२ वर्षीया बिभा पासवान छन्।

मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले २२ माघ २०७७ मा रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। त्यसैगरी उनकी श्रीमती बिभालाई १७ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

फैसला भए पश्चात फरार रहेका दुवै जनालाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका १३ बाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

दुबैलाई धनुषा जिल्ला अदालतमा मंगलबार नै हाजिर गराएको र कारागार कार्यालय झुम्का सुनसरीमा पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया