

सुपारी, केराउको आयात निर्णय खारेज गर्न माग गर्दै संसदीय समितिमा ज्ञापनपत्र

काठमाडौं – राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सुपारी, केराउ, छोकडा, मरिच जस्ता वस्तु आयातमा खुलाइएको कोटा खारेज गर्न माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसदको उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा ती वस्तुको आयात रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
मञ्चले समितिका सभापति बिमल श्रीवास्तवलाई ज्ञापनपत्र बुझाउँदै आयात इजाजतको निर्णय फिर्ता गराउन निर्देशन गरिदिन आग्रह गरेको छ । ‘सरकारी निर्णयले वैदेशिक मुद्राको सञ्चितिमा भार पर्छ नै । सुपारी, मरिच तस्करी भएर जाने लगभग निश्चित छ । आयात खुल्ला गर्ने निर्णयले वैदेशिक मुद्रा अनावश्यक खर्च हुने र अर्कोतर्फ तस्कर व्यापारलाई बढावा दिने काम हुन्छ,’ मञ्चले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘नेपाली उपभोक्तालाई लाभ नहुने यस्तो असान्दर्भिक कदम तत्काल रोक्नुपर्छ । आयात इजाजत खुला गरेको निर्णय तत्काल खारेज गर्नुपर्छ ।’
व्यापारीको स्वार्थमा खुला गरिएको निर्णय तत्काल छानबिन गर्न समेत माग गरिएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । त्यसक्रममा समिति सभापति बिमल श्रीवास्तवले सुपारी, केराउ आयात सम्बन्धी निर्णयबारे समितिमा बहस गर्ने आश्वास दिएको महर्जनले बताए ।
केहि दिनअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा एक सूचना जारी गर्दै उद्योगका लागि भन्दै केराउ, मरिच र सुपारीको आयात खुला गरेको थियो । राजपत्रमा प्रकाशित सूचना अनुसार केराउ, सुपारी र मरिच औधोगिक प्रयोजनका लागि उद्योग विभागले सिफारिस गर्नुपर्छ ।
सम्बन्धित उद्योगले आफै आयात गर्न सक्ने व्यवस्था गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०७८÷७९ को लागि आयात अनुमति गर्न स्वीकृति दिने जनाएको छ । विगतका वर्षहरुमा जस्तै सुपारी, मरिच र छोकडा भारतमा तस्करी भएर जाने भन्दै मञ्चले वैदेशिक मुद्रा अनावश्यक खर्च हुने र तस्करी व्यापारलाई बढावा दिने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

