१० अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक
काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले चैत १ गते जारी गर्न लागेको ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो । राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो २०७९ जेठ ३१ गते परिपक्व हुनेछ ।
यसैगरी राष्ट्र बैंकले ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल भने २०७९ फागुन ३० गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ ।
एकै व्यक्ति वा संस्थाले अलग-अलग वा बहु-मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।