बिदा लिएर निजीमा काम गर्ने स्वास्थ्यकर्मीलाई कारबाही हुने


काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले जुन उद्देश्यका लागि बिदा लिएको हो सोही उद्देश्यअनुसार त्यसको सदुपयोग गर्न आग्रह गरेका छन् ।

‘केही चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीले जुन उद्देश्यका लागि बिदा लिएका हुन् सोही अनुसार बिदा उपयोग नगरी निजी स्वास्थ्य संस्थामा, विदेशी स्वास्थ्य संस्था एवं गैरसरकारी सङ्घ संस्थामा गई कार्य गरेको जानकारी प्राप्त हुन आएकाले त्यस्ता कार्य नगर्नु, नगराउनु हुन अनुरोध गर्दै आ–आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेसागत अनुशासनमा रही कार्य गर्नुहोला,’ सचिव बुर्लाकोटीद्वारा जारी निर्देशनमा उल्लेख छ ।

उनले चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीलाई अध्ययन, असाधारण, घर बिदा, बिरामी बिदा, भइपरी आउने र पर्व बिदा जस्ता बिदा लिई निजी संस्था तथा गैरसरकारी संस्थामा गई कार्य गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने जनाएका छन् ।

प्रतिक्रिया