भारतले फेरि रोक्यो नेपाली चिया


इलाम- नेपालबाट भारत निकासी हुने नेपाली चियालाई भारत पक्षले फेरि रोकेको छ । चियाको प्रयोगशाला परीक्षण गर्ने बहानामा भारतले पछिल्लो पटक दुई दिनदेखि नेपाली चिया रोकेको हो ।

वैशाख पहिलो साता पनि रोकिएको चिया खुल्ला गरेको केही दिनमै पुनः भारतले रोकिदिएको इलामको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए ।

कट्टेलका अनुसार एक गाडी चियाको नमुना पठाएर त्यसको रिपोर्ट आउन करिब १५ दिन पर्खनुपर्छ । १५ दिनसम्म भारतीय भूमिमा पुगेको गाडीको खर्च नै धान्न नसक्ने अवस्था रहेको कट्टेलले बताए  । परीक्षण गर्न एक गाडी चिया पठाउँदा रिपोर्ट आउने समयसम्म करिब एक लाख भारतीय रुपियाँ खर्च हुने गरेको बताइएको छ ।

यो सिजनमा इलाममा मात्र करिब ११ लाख किलो तयारी चिया गोदाममै थन्किएको छ ।

प्रतिक्रिया