नेपाली मुद्रा इतिहासकै कमजोर, डलरको भाउ बढ्दा अर्थतन्त्रमा नकरात्मक असर


काठमाडाैँ – अमेरिकी डलरसँग नेपाली रुपैयाँ मंगलबार इतिहासकै कमजोर बन्न पुगेको छ । नेपाल राष्टबैंकले मंगलबारका लागि जारी गरेको डलरको खरीद तथा बिक्री दर हालसम्मकै उच्च बनेको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ । अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्नेछ ।

पछिल्लो समय लगातार अमेरिकी मुद्रा वलियो बन्दै गएको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको हो । डलरको मूल्य घटबढ हुँदा भारतीय मुद्राको दर समेत प्रभावित हुन्छ र त्यसले नेपाली रुपैयाँको विनिमयमा सोझै असर गर्छ । कारण नेपाली रुपैयाँको भारती रुपैयाँसँग विगत १४ वर्षदेखि स्थिर विनिमय दर रहेको छ ।

अमेरिकी डलरसँग भारतीय मुद्रा अवमूल्यन भएलगत्तै त्यसको असर नेपाली रुपैयाँमा पनि परेको हो । यस्तै पछिल्लो समय रुस–युक्रेन युद्धको असर समेत अमेरिकी डलरको मूल्यमा परेको छ । विश्वव्यापाी रुपमा पछिल्ले समय डलरको माग उच्च छ । माग उच्च हुँदा यसले मूल्य बढेको हो ।

अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरुले औंल्याएका छन् । नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको मूल्य बढ्दा तेस्रो मुलुकबाट डलर तिरेर गर्नुपर्ने आयातबाट अर्थतन्त्रलाई नोक्सानी हुन्छ । डलरको मूल्य बढ्दा कम्तीमा पनि नेपालको ३० प्रतिशत अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुने देखिन्छ । विदेशीलाई तिर्नुपर्ने ऋण पनि डलरमा तिर्नुपर्ने भएकाले नेपाली अर्थतन्त्रलाई घाटा हुन्छ । डलरको मूल्य बढ्दा बिदेशमा काम गरेर नेपालमा रेमिट्यान्स पठाउनेलाई भने फाइदा नै पुग्नेछ ।

प्रतिक्रिया