अझै भएन काठमाडौंको फोहोर व्यवस्थापन


काठमाडौं – पाँच दिनदेखि नियमित रुपमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुन थाले पनि अझै धेरै स्थानको फोहर उस्तै छ ।

बाह्र दिनसम्म उठ्न नसकेको फोहोर यही फागुन १२ गतेदेखि विसर्जन हुन थाले पनि अझै सडक किनारमा थुपारिएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन । यसको प्रत्यक्ष असर यातायात आवागमनमा र पैदल यात्रीलाई परेको छ ।

अहिलेसम्म कामपाको कालिमाटी, टंकेश्वर चोक र डल्लु पुलमा थुपारिएको फोहर विसर्जन हुन सकेको छैन । लामो समयसम्म एकै स्थानमा फोहर रहँदा दुर्गन्ध फैलिएर थप समस्या भएको छ ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईले अहिले नियमित रुपमा फोहर व्यवस्थापन भए पनि लामो समयसम्म फोहर थुप्रिएकाले समस्या भएको र अबको दुई दिनभित्र सबै स्थानको फोहर व्यवस्थापन गरिने बताए । स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौंँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन सकेको थिएन ।

हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम सम्पन्न नगरेको भन्दै पासाङल्यामू राजमार्गका स्थानीयले गरेको अवरोधका कारण फोहर उठ्न नसकेको हो । उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन योजना नबन्दा पटक पटक समस्या उत्पन्न भएको राईको भनाइ छ ।

वि.सं २०७० देखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयले आन्दोलन गरी फोहर विसर्जनमा अवरोध पु¥याउँदै आएका छन् । “यो विषयमा सङ्घीय सरकार संवेदनशील हुनुपर्छ’’ उनले भने, “समयमै बाटो निर्माण गर्न पहल गरिनुपर्छ ।’’ हाल बञ्चरेडाँडामा फोहर व्यवस्थापनस्थल निर्माण गरिँदै छ ।

काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा समस्या भएको हो । उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ ।

प्रतिक्रिया