

महन्थका सारथी लाल साथ छाडेर तमलोपा प्रवेश

जनकपुर । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता तथा पूर्वसांसद बृषेशचन्द्र लाल तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।
लोसपाका कार्यकारी सदस्य रहेका लाल २०६४ सालमा ठाकुरको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी गठन हुँदा नेपाली कांग्रेस परित्याग गरेर ठाकुरका सारथी बनेका थिए ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट २०७४ सालमा राष्ट्रिय सभाको सांसद समेत भएका नेता लालसँगै डा.बिजयकुमार सिंहलगायत नेता÷कार्यकर्ता तमलोपा प्रवेश गरेका हुन् । यहाँ मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नेता लालले औपचारिक रुपमा लोसपा परित्यागको घोषणा गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीमा समाहित भएको घोषणा गरेका हुन् ।
तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीसहित मधेश केन्द्रीत ६ दल २०७४ सालमा एकीकृत भइ राजपा नेपाल गठन भएको थियो । तर ठाकुर नेतृत्वको तमलोपालाई ब्युँताएर अध्यक्ष भएका शिवशंकर लाल कर्णलाई नेतृत्व स्वीकार गर्दै लाल सो पार्टीमा प्रवेश गरेका हुन् ।

