

दोस्रो जितको खोजीमा नेपाल, टस हारेर ब्याटिङ गर्दै

काठमाडौं – आइसीसी टी- २० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा शनिबार (आज) फिलिपिन्सविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितसहित एक खेल अगावै सेमिफाइलनमा पुग्ने लक्ष्यमा हुनेछ ।
नेपालले टस हारेर ब्याटिङ सुरू गरेको छ । ताजास्थितिमा नेपालले ५.४ ओभरमा २ विकेट गुमाउँदै ४१ रन बनाएको छ । नेपालका आशिफ शेख पहिलो बलमै आउट भएका थिए भने कुशल मल्ल १२ रनमा आउट भएका छन् । अहिले कुशल मल्ल र दीपेन्द्र सिंह एरीले ब्याटिङ गरिरहेका छन् ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ११ः४५ बजेदेखि सुरु हुनेछ ।
नेपालले यसअघि पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रनमात्र जोड्न सक्यो ।
शनिबार जितसहित सेमिफाइनल प्रवेश गरे नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ । सेमिफाइलन प्रवेशका लागि नेपालले फिलिपिन्स र क्यानडामध्ये एक टोलीविरुद्ध जित निकाल्नु पर्नेछ ।
प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् ।

