

रुस र युक्रेनबीचको तनावका काराण उद्धार गर्नुपर्ने अवस्थामा छैनन् नेपाली

काठमाडौं – परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । रुस र युक्रेनबीचको तनावबाट सिर्जित परिस्थितिलाई नजिकबाट नियालिरहेको समेत मन्त्रालयले जनाएको छ ।
युक्रेन नियोग हेर्ने जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले मन्त्रालयको युरोप(अमेरिका हेर्ने महाशाखालाई युक्रेन सङ्कटबारे ब्रिफिङ गरेका छन् ।
तत्कालै उद्धार गर्नुपर्ने र सहायता उपलब्ध गराउनुपर्ने अवस्था नरहेको भन्दै खड्काले ब्रिफिङ गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘अहिलेसम्म नेपालीहरु दूतावासमा सहयोग चाहियो भनेर आएका छैनन् र हामी पनि एनआरएनए लगायतका संस्थासँगको सम्पर्कमा छौँ’ राजदूत खड्काले गरेको ब्रिफिङबारे मन्त्रालयका एक अधिकारीले भने ।
परराष्ट्रको तथ्यांकअनुसार अहिले युक्रेनमा झन्डै एक सय जना नेपाली रहेका छन् जसमध्ये ३० जना व्यापारमा संलग्न छन् । अन्य भने युक्रेन हुँदै युरोप छिर्ने उद्देश्यले त्यहाँ पुगेका नेपालीहरु छन् ।
रुसले युक्रेन सीमामा डेढ लाख संख्यामा सैनिक र भारी ट्याङ्कहरू खडा गरेपछि रुस र पश्चिमा मुलुकको सम्बन्धमा तनाव सिर्जना भएको छ । अमेरिकासहितको नेटो गठबन्धनले रुसले युक्रेनमा आक्रमण गर्ने सम्भावना अझै उच्च रहेको समेत बताइरहेको छ ।

