

आईसीसी पुरुष टी–२० विश्वकप छनोटः नेपालको सानदार सुरुवात
घरेलु टोली ओमान ३९ रनले पराजित

काठमाडौं – आईसीसी पुरुष टी—२० विश्वकप ग्लोबल छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । शुक्रबार ओमानको अल–अमारत रंगशालामा सम्पन्न खेलमा नेपालले ओमानलाई ३९ रनले हराएको हो ।
नेपालले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले १७ ओभरमा ७८ रन बनाउँदै आफ्ना सबै विकेट गुमायो । त्यससँगै नेपालले पहिलो खेलमा घरेलुटोली ओमानविरुद्ध ३९ रनको शानदार जित हात पार्दै विश्वकप छनौटमा शानदार सुरुवात गरेको छ ।
११८ रनको लक्ष्यसहित मैदानमा आएको ओमानले पहिलो विकेट पहिलो ओभरमै गुमाउन पुग्यो, ओमानका कश्यप प्रजापति २ बलको सामना गर्दै शुन्य रनमा पेभेलियन फर्किए । त्यसपछि दोस्रो ओभरमा अर्का ब्याट्सम्यान आयान खान ३ रन बनाउँदै आउट भए । नेपालका लागि पहिलो विकेट कमलसिंह ऐरी लिए ।
त्यस्तै ओमानका जतिन्दर सिंह ९ रन बनाउँदा रनआउट भएपछि ओमानको पारि लड्खडाउन पुग्यो । ओमानले ३५ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि ब्याटिङमा आएका नसिम कुशीले ओमानी पारि सम्हाल्ने प्रयास गर्दै २ छक्का सहित २४ रन बनाउँदा नेपाली कप्तान सन्दीप लामिछानेले बोल्ड गरेपछि ओमान समस्यामा पर्यो । नसिमले सन्दीपको एउटै ओभरमा २ छक्का हिर्काएका थिए ।
त्यसपछि अर्का ब्याट्म्यान कमिर कलिम पनि ९ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीको एलबीडब्लू धरापमा परेपछि ओमानले ६८ रन बनाउँदा ८ विकेट गुमायो । ओमानका लागि नसिम बाहेक अन्यले दोहोरो रन बनाउनमा सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन दिएर २ विकेट हात पारे । त्यस्तै कमल सिंह ऐरिले २.५ ओभरमा १५ रन खर्चँदै ३ विकेट लिए भने जितेन्द मुखियाले ३ ओभरमा ९ रन खर्चिएर १ विकेट हात पारे । त्यस्दै दीपेन्द्र सिंह ऐरिले ४ ओभरमा १५ रन दिएर २ विकेट लिए । नेपालका अविनाश बोहोराले ३ ओभरमा ११ रन खर्चँदै १ विकेट हात पारे । ओमानले १२ रन अतिरिक्त पाएको थियो ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले आयोजक ओमानविरुद्ध २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।
नेपालका ओपनर ब्याट्म्यानद्वय कुशल भुर्तेल र आशिफ शेख क्रमशः ५ र ४ रन बनाउँदै आउट भए । नेपालले १२ रन बनाउँदा आफ्ना दुवै ओपनर गुमाएको थियो ।
त्यसपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र पूर्वउपकप्तान दीपेन्द्र सिंह ऐरीले पारी सम्हाल्ने कोशिश गरेपछि नेपालको ३३ रन पुग्दा मल्ल १५ रन बनाउँदै आउट भएपछि नेपाल सम्हालिन सकेन । त्यसलगत्तै नेपालले ऐरीलाई पनि व्यक्तिगत ११ रनमा आउट भए ।
त्यसपछि नेपालका लागि आरिफ शेख र लोकेश बमले पारी सम्हाल्ने कोशिस गरेपनि १ छक्काको मद्दतले १६ रन बनाउँदै बम आउट हुँदा नेपालले १३।२ ओभरमा ६७ रन बनाएको थियो । बम आउटभएपछि आएका विवेक यादव ७ रन बनाउँदै आउट भए भने त्यसपछि आएका कमल ऐरी भने १ रन बनाएर आउट भए ।
त्यसपछि आरिफ शेखलाई कप्तान सन्दीप लामिछाने राम्रो साथ दिँदै गर्दा आरिफले नटआउट ३८ रन बनाए । लामिछाने भने १६ रन बनाउँदै नटआउट रहे ।
नेपालले भोली (शनिबार) फिलिपन्ससँग दोस्रो खेल खेल्नेछ ।

