२८८ जना सवार क्रुज जहाजमा भूमध्यसागरमा आगो लाग्यो


रोम – भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झन्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज जहाजमा आगो लागेको छ । जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु गरी २८८ जना रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ ।

जहाजका यात्रुलाई उद्दार गर्न तीनवटा टग बोट (जहाजलाई तान्ने शक्तिशाली डुंगा) र तीनवटा गस्ती डुंगा घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

सो जहाज ग्रीसको सहर इगोउमेनिस्ताबाट इटालीतर्फ बढेको बताइएको छ । ‘युरोफेरी ओलम्पियाका क्याप्टेनले डुंगा छोड्न भनेका छन्,’ प्रहरीले जनाएको छ ।

क्षतिबारे विवरण सार्वजनिक भएको छैन । आगलागीको कारण नखुलेको र त्यसबारे अनुसन्धान सुरु गरिएको ग्रीसको तटीय गार्डले जनाएको छ ।

प्रतिक्रिया