
रिम्ना-तल्लुबगर सडकका लागि एक अर्ब ८० करोड रुपैयाँ बजेट स्वीकृत
जाजरकोट – डोल्पा सडकखण्डको रिम्नादेखि तल्लु बगरसम्मको सडकको स्तरोन्नति गर्नका लागि बजेट स्वीकृत भएको छ।
वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएसँगै यस सडक खण्डका लागि एक अर्ब ८० करोड रुपैयाँ स्वीकृती भएको पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताए। अहिले सदरमुकाम खलंगाको पासागाडदेखि रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम जारी छ।
११७ किलोमिटर सडकखण्डमध्ये दुई वर्षअघि पासागाड –रिम्नाको स्तरउन्नतीको लागि बोलपत्र भई अहिले काम जारी छ भने बाँकी रिम्नादेखि नलगाड नगरपालिकाको तल्लु बगरसम्म सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको पूर्वमन्त्री बस्नेतले बताए।
जाजरकोट नलगाड नरपालिका–८ मन्मैदेखि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको ठाँटीखोला जोड्नका लागि यातायात चल्ने भेरी नदीको पुल निर्माणका गर्न बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको छ।
सो पुल निर्माणका लागि २४ करोड रुपैयाँ स्वीकृत भएको पूर्वमन्त्री बस्नेतले बताए। त्यस्तै जाजरकोट(डोल्पा सडक खण्डकै बीच, बीचमा रहेको भेरी नदीमा पुल निर्माण कार्यसमेत जारी छ।
बेलिब्रिज निर्माण गरेर तत्काल यातायातका साधनहरु सञ्चालन गर्न सजिलो हुने भएकाले यो आर्थिक वर्षको अन्तिममा पुलहरु निर्माण कार्य सकिने सडक डिभिजन चौरजहारीका प्रमुख धुर्व झाले बताए।
जाजरकोट खण्डका अधिकांश पुलहरू निर्माण भइसकेकोले डोल्पा खण्डमा मात्र अहिले पुलको काम निरन्तर भइरहेको छ। त्यस्तै रुकुम पश्चिममा एक घर एक धारो निर्माणका लागि एक अर्ब बजेट स्वीकृतकै चरणमा गएको आठबीसकोट नगरपालिकाका नगरप्रमुख गोरखबहादुर केसीले बताए।
उनका अनुसार नदुवा राडी सडक स्तरोन्नतिका लागि ३० करोड, फुसको छाना हटाउन आठ करोड, राडी बजार क्षेत्रमा सहरी पूर्वाधारका लागि ५० करोड रुपैया स्वीकृत भएको छ। छहरेबगर गोतामकोट १० किलोमिटर सडकका लागि ५० करोड रुपैयाँ बजेट स्वीकृत भ बोलपत्र आह्वान गर्ने चरणमा पुगेको छ।



कागजपत्र |
