नेपालमै क्यान्सर रोग विरुद्धको औषधि उत्पादन


काठमाडौं – नेपालमा पहिलोपटक क्यान्सर रोग विरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) उत्पादन गर्न थालिएको छ । टिजिग फर्मा प्रालि क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ ।

टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले स्वदेशभित्रै बिक्री वितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त गरेको बताए । उनले विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको बताए ।

वैद्यले क्यान्सर रोग विरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै पहिलो कम्पनी टिजिग भएको दाबी समेत गरे । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को स्टान्डर्ड, नेपालको प्रविधि हस्तान्तरणसम्बन्धि ऐन र औषधि उत्पादन निर्देशिकामा आधारित भई क्यान्सरको औषधि उत्पादन गरेको वैद्यको दावी छ ।

उनले कम्पनीको उत्पादन विश्वस्तरकै रहेको जिकिर समेत गरे । एसपीएएल (डब्लुएचओ जीएमपी, इयुजीएमपी सर्टिफाईड) समेतको व्यवस्थापन तथा निगरानी हुने भएकाले औषधिको गुणस्तर नियन्त्रण र नियमनमा विश्वसनीय आधार रहेको उनको भनाइ छ ।

बजारमा टिजिगका उत्पादनहरु ट्याब्लेट र क्याप्सुलको बनोटमा छन् । सो कम्पनीले इन्जेक्सनमा आधारित भइ चाँडै औषधी बनाउने योजना रहेको समेत निर्देशक बैद्यले जानकारी दिए ।

प्रतिक्रिया