

नेपालसहित ८२ वटा मुलुकबाट दिल्ली जाने व्यक्तिलाई पीसीआर रिपोर्ट नचाहिने

नयाँदिल्ली – भारतले नेपालसहित ८२ वटा मुलुकबाट राजधानी दिल्ली जाने व्यक्तिलाई कोभिड(१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको छ । तर, यो सुविधा कोरोनाविरुद्धको खोप लगाएका यात्रुमा मात्र लागू हुने जनाइएको छ ।
खोप नलगाएका व्यक्तिले भने अनिवार्य पीसीआर रिपोर्ट पेस गर्नुपर्ने छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ यात्रा निर्देशिकामा यो व्यवस्था गरिएको हो ।
दिल्ली जाने यात्रुले यात्रापूर्व हवाई सुविधा फर्म भने भर्नुपर्ने जनाइएको छ । यसअघि नेपालबाट दिल्ली जाने यात्रुलाई पीसीआर रिपोर्ट अनिवार्य थियो । नयाँ गाइडलाइनअनुसार अब खोप प्रमाणपत्र वा आरटी पीसीआर रिपोर्ट अपलोड गरे पुग्ने व्यवस्था छ ।
५ वर्षमुनिका बालबालिकाको हकमा भने पीसीआर रिपोर्ट वा खोप कार्ड नचाहिने व्यवस्था छ ।

