

उदयपुरको चौदण्डीगढीमा सुरु भयो खेलकुद महोत्सव

उदयपुर – उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले आइतबार खेलकुद महोत्सव सुरु गरेको छ । एक महिनासम्म सञ्चालन हुने उक्त महोत्सवको चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चौधरीले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
चौदण्डीगढी नगरपालिकाको–१ स्थित धार्मिक तथा पर्यटकीय स्थल चौदण्डीगढीमा भलिबल र प्याराग्ल्याडिङ्गले सफल उडान गरेर महोत्सवको सुरुवात गरिएको छ । चौदण्डीगढी खेलकुद महोत्सव चैत्र १ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
चौदण्डीगढी नगरपालिकाले सुरु गरेको खेलकुद महोत्सवमा भलिबल, प्याराग्लाइडिङ्ग, मेयर कप फुटबल, हाजिरिजवाफ प्रतियोगिता, ब्याडमिन्टन, ह्याण्डबल, उपमेयर कप महिला फुटवल, तेक्वान्दो र चौदण्डीगढी गोल्डकप जस्ता बिधामा प्रतिश्पर्धा गराइने छ ।
चौदण्डीगढी नगरपालिकाको संयोजन तथा चौदण्डीगढी नगर खेलकुद बिकास समितीको आयोजना सुरु भएको खेलकुद महोत्सवमा अन्तर जिल्ला, अन्तर पालिकाका खेलाडीहरुको समेत सहभागिता रहेको छ ।
चौदण्डीगढी नगर खेलकुद बिकास समितिले चौदण्डीगढी नगरपालिकाको सबै वडामा पर्यटन प्रवर्द्धन होस् भन्ने हेतुले नगरका दश ओटै वडाका खेलमैदानलाई विभिन्न खेलहरु खेलाउने एक महिने खेल तालिका समेत सार्वजनिक गरेको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारासहित आन्तरिक पर्यटन प्रवद्र्धधन गर्ने उदेश्यले खेलकुद महत्सवको आयोजना गरिएको नगर प्रमुख खगेन्द्र राईले जानकारी दिएका छन् ।
समुद्र सतहदेखि २३१० मिटर उचाईमा रहेको चौदण्डीगढीस्थित पर्यटकीय स्थलबाट सुरु गरिएको खेलकुद महोत्सव चौदण्डीगढी नगरपालिकाको वडा नं ७ स्थित रामप्रशाद राई रंगशालामा समापन हुने बताइएको छ ।

