

कुर्सीमा बसिरहेको अवस्थामा फेला पर्यो दुई वर्षअघि मृत्यु भएकी महिलाको शव

एजेन्सी – उत्तर इटालीमा दुई वर्षअघि मृत्यु भएकी एक महिलाको शव कुर्सीमा बसिरहेको अवस्थामा फेला परेको छ। सीएनएनका अनुसार लम्बार्डीको लेक कोमोमा ७० को दशककी एक महिलाको शव फेला परेको हो। उनी उक्त घरमा एक्लै बस्दै आएकी थिइन्। शव परीक्षणको क्रममा उनको मृत्यु दुई वर्षअघि नै भएको खुलेको हो।
समाचारमा उल्लेख गरिएअनुसार महिलाको बगैँचामा रुख ढलेको उजुरी पाएसँगै गएको टोलीले कुर्सीमा बसिरहेको अवस्थामा महिलाको शव फेला पारेको हो। यद्यपि महिलाको मृत्युको कारण भने खुल्न सकेको छैन। महिलाको परिवारका अन्य सदस्यहरु छन् वा छैनन् भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ।
मृत्यु हुने महिलाको नाम मारिनेला बेरेटा हो। अहिलेसम्म उनको कोही पनि आफन्त सम्पर्कमा आएका छैनन्। कोमोका मेयर मारिओ ल्यान्ड्रिस्किनाले स्थानीय सरकारले एक्लै बस्ने मानिसहरुको ध्यान राख्नुपर्ने बताएका छन्। उनका अनुसार उनको नाम स्थानीय सामाजिक सेवा पाउनुपर्ने व्यक्तिको सूचीमा समेत नरहेको बताएका छन्।
इटालीकी परिवार तथा समान अवसरमन्त्री एलेना बोनेटीले उनलाई सम्झिने काम समुदायको भएको बताएकी छिन्।उनले समुदायका मानिसहरुले कसैलाई पनि एक्लो छाड्न नहुनेमा जोड दिएकी छिन्।

