३६ प्रतिशत ब्याजमा ऋण काढेर विदेश


इलाम- मुलुकमा जीविकोपार्जन गर्ने कमाई र काम नपाएपछि धेरैलाई रोजगारीको लागि बिदेसिनुपर्ने बाध्यता छ । वैदेशिक रोजगारीमा जाने धेरैले महँगो ब्याजमा ऋण लिने गरेका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी) ले इलाम नगरपालिकाको आप्रवासन पार्श्वचित्र तयार पार्न लिएको तथ्याङ्क अनुसार ३६ प्रतिशतभन्दा बढीसम्म ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा गएको पाइएको छ ।

११७ जनाले २५ देखि ३६ प्रतिशत ब्याजदरमा ऋण लिएर विदेश गएका हुन् । ३६ प्रतिशत भन्दा बढी ऋण लिएर पनि वैदेशिक रोजगारीमा जाने गरेको पाइएको सामीका कार्यक्रम संयोजक ईश्वरी तामाङले बताए । ३६ प्रतिशत भन्दा बढी ऋण लिएर तीन जना वैदेशिक रोजगारीमा गएका छन् । ‘विदेश जाने धेरैले ऋण काढेरै विदेश जाने हुन्’, तामाङले भने,‘बैङ्क वित्तीय संस्थाहरूले विदेश जानेलाई ऋण दिँदैनन्, साहु महाजनबाट हतार हतारमा ऋण लिएर विदेश जानेहरू जतिसुकै महँगो ब्याज पनि तिर्न तयार हुन्छन् ।’

सुरक्षित आप्रवासन परियोजनाले सङ्कलन गरेको तथ्याङ्क अनुसार १६५ जनाले १२ प्रतिशत भन्दा कम ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा गएका छन् । १३ देखि १८ प्रतिशत ब्याजमा ऋण काढेर २८३ जना बिदेसिएका छन् । ४४१ जना १९ देखि २४ प्रतिशतसम्म ब्याजमा ऋण लिएर विदेश गएको पाइएको छ ।

वैदेशिक रोजगारीको लागि वित्तीय संस्थाहरूले ऋण दिँदैनन् । त्यसैले अधिकांशले साहु महाजन र आफन्तबाट ऋण लिएर विदेश जाने गरेका छन् । वित्तीय संस्थाबाट लिएको ऋण विदेश जानको लागि खर्च गरेपनि अरुनै प्रयोजन देखाएर ऋण लिने गरेको तामाङ बताउँछन् ।

इलाम नगरपालिका क्षेत्रका ९४५ जनाले ऋण या सापटी लिएर विदेश गएको तथ्याङ्क छ । त्यसमध्ये ६३४ जनाले आफन्तबाट ऋण लिएका छन् भने २६२ जना साहु महाजनबाट ऋण लिएका छन् । त्यस्तै बचत समूहबाट ३० जना, सहकारीबाट ३६ जना र बैङ्कबाट ८७ जनाले ऋण लिएर विदेश गएको तथ्याङ्क छ । ४०५ जनाले भने आफ्नै श्रोतबाट रोजगारीको लागि विदेश गएका छन् भने, १८ जनाले सम्पत्ति बेचेर रोजगारीको लागि विदेश जाने खर्च जुटाएका हुन् ।

सामी परियोजनाको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि धेरैजसो खाडी मुलुक गएका छन् । खाडी मुलुक पठाउन म्यानपावर कम्पनीले दश हजार रुपैयाँ भन्दा बढी रकम लिन पाउँदैनन् । तर, खाडी मुलुक जानकै लागि पनि २० गुण बढी रकम तिर्न बाध्य छन् । २४३ जनाले दुई लाख रुपैयाँ भन्दा बढी रकम खर्चेर विदेश गएको पाइएको छ । १४७ जनाले एक लाख ५१ हजार देखि दुई लाखसम्म बुझाएको पाइएको छ । ६८३ जनाले एक लाखदेखि एक लाख ५० हजारसम्म खर्चिएका छन् । ९९ जनाले ८१ हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म, ७८ जनाले ५१ देखि ८० हजार रुपैयाँसम्म, ११ देखि ५० हजार रुपैयाँ खर्चेर बिदेसिएका छन् । जम्मा २१ जनाले फ्रि टिक फ्रि भिसा मार्फत रोजगारीको लागि विदेश गएका छन् ।

 

प्रतिक्रिया