

सुनसरीको लौकहीमा बस र ट्रक ठोकिँदा आगलागी, केही घाइतेकाे जलेर मृत्यु

काठमाडाैँ – सुनसरीको लौकहीमा बस र ट्रक एक आपसमा ठोकिएर आगलागी हुँदा कम्तिमा १६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको जलेर मृत्यु भएको प्रहरीले आशंका गरेको छ।
भोक्राह नरसिंह गाउँपालिका र कोशी गाँउपालिकाको सीमामा पर्ने खुनिया पुलमा शुक्रबार राति ९ बजे भएको दुर्घटनामा भएको हो।
प्रहरीका अनुसार शुक्रबार राति ७.२० तिर काकडभिट्टाबाट यात्रु लिएर काठमाडौं हिँडेको ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बसले पूर्वतर्फ आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रकलाई ठक्कर दिएर ट्रक मुनी छिर्दा आगलागी भएको हो।
सुनसरी प्रहरीका प्रवक्ता नरेन्द्रकुमार कार्कीका अनुसार बस र ट्रक एक आपसमा ठोकिएपछि आगो लागेको थियो। आगलागी हुँदा बसमा बढी क्षति भएको छ।
आगलागीमा परी कम्तिमा १६ जना यात्रु घाइते भएका छन्। त्यसमध्ये केहीको जलेर मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
सुनसरी प्रहरी प्रमुख सञ्जय सिंह थापाका अनुसार घटनामा १६ जनाभन्दा बढी घाइते भएका छन्। त्यसमध्ये केहीको मृत्यु भएको आशंका छ। घाइतेलाई उद्धार गरि अस्पताल पुर्याइएको थापाले जानकारी दिए।
उनले क्षतिको प्रारम्भिक अनुमान मात्रै भएकाले पूर्ण विवरण आइनसकेको बताए।प्रहरीले दुई घण्टाभित्र आगो नियन्त्रणमा लिएपनि बस पूर्ण रुपमा जलेर नष्ट भएको छ। आगो नियन्त्रणमा आएसँगै बस र ट्रकलाई क्रेन लगाएर अलग अलग गरिएको जानकारी दिइयो।

