

निजी सवारीमा जोर-बिजोर भोलिसम्म यथावत, थपघटबारे आइतबार बैठक बस्दै

काठमाडौं – उपत्यकामा निजी सवारी साधन चलाउनका लागि लगाइएको जोर-बिजोर प्रणाली भोलिसम्म कायम हुने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जोर-बिजोर प्रणाली भोलिसम्म यथावत रहेको जानकारी दिएका छन्।
उपत्यकाका तीन वटै सिडिओ कार्यालयले माघ १४ गते निजी सवारी साधनमा जोर-बिजोर लागू गरिएको आदेश जारी गरेको थियो। अब जोर-बिजोर प्रणाली के गर्ने भन्नेबारे आइतबार बैठक गरेर निर्णय लिइने भन्दै काठमाडौंका सिडिओ रिजालले भने, ‘अहिलेलाई जोर-बिजोर भोलिसम्म यथावत छ। आइतबार सिसिएमसीको बैठक बस्ने भन्ने कुरा छ। त्यसैले हामी पनि आइतबार बैठक बसेर यसबारे निर्णय लिन्छौं।’
उनले संक्रमण दरलाई हेरेर जोर-बिजोरबारे नयाँ निर्णय लिइने जनाए।

