जनमत पार्टीद्वारा मधेश प्रदेशमा बिहानैदेखि टायर बालेर राजमार्ग अवरुद्ध, लामो दूरीका सवारी साधन अलपत्र


काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ । किसान हकहितका लागि भन्दै आन्दोलन गर्दै आएको सो पार्टीले आज सप्तरीलगायतका मधेश प्रदेशमा राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेको हो ।

जनमत पार्टीका कार्यकर्ताले बिहानैदेखि टायर बालेर सडक अवरुद्ध गर्नुका साथै प्रदर्शन समेत गरेका छन् । प्रदर्शनका कारण सप्तरी, सिराहा, धनुषालगायत जिल्लामा यातायात प्रभावित बनेको छ । बाँसका भाटा बोकेका कार्यकर्ता सडकमा घुमिरहेका देखिएका छन् ।

राजमार्ग अवरुद्ध हुँदा मधेश प्रदेश हुँदै पूर्व पश्चिम जाने आउने लामो दूरीका यातायातका साधन रोकिएका छन् । राजमार्ग क्षेत्रमा ब्यापक रुपमा प्रहरी पनि परिचालन गरिएको छ ।

जनमत पार्टीले किसानलाई मलखाद, सिँचाइ सुविधा र किसानलाई पेन्सनको ब्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर सडक प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया