बलेफी हाइड्रोपावरले आयोजना प्रभावितका लागि माघ २७ देखि आईपीओ बिक्री गर्ने


काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ बिक्री गर्ने भएको छ। कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गर्न लागेको हो।

जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ। बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १ सय ३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं ७ का स्थानीयलाई छुट्याइएको छ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ।

यो आईपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। स्थानीय बासिन्दाले सिन्धुपाल्चोकस्थित कुमारी बैंकको जलबिरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्।

यसैगरी, लक्ष्मी बैंकको खाडीचौर र चौतारा शाखाबाट पनि आईपीओ भर्न सकिन्छ।

प्रतिक्रिया