आजको मौसम : बागमती सहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना


काठमाडौं – देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ ।

आज राति प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

आज बिहान तराईका धेरै भू–भागका हुस्सु र कुहिरो लागेको छ । दिउँसो र राति वर्षा तथा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

 

 

प्रतिक्रिया