सहिदहरूको विवरणसहित एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् ।

आइतबार सहिद दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरूको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताउँदै देउवाले यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

देउवाले शहिदहरूले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको भन्दै सहिदहरूको परिकल्पनाअनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले अबको देशको गन्तव्य आर्थिक रुपान्तरण र सुशासन भएकाले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गर्नुपर्ने उल्लेख गरे ।

सहिदको योगदानलाई चिरस्थायी बनाउन सरकारले उनीहरूको नाममा विभिन्न मार्ग प्रस्थानको नामाकरण गर्ने, पुस्तकालय स्थापना गर्ने, सहिदहरूको जीवनीसँग सम्बन्धित कुराहरूलाई प्रकाशन गर्ने, युवा पुस्तालाई जागरुक बनाउने, सहिदका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने लगायत कामहरू गर्दै आइरहेको प्रधानमन्त्री देउवाले बताए । यस्ता कामलाई राजनीतिवृत्तमा थप विस्तार गरी शहीद परिवारलाई सक्दो सहयोग प्रदान गर्न सरकारले ध्यान दिने उनले बताए ।

प्रतिक्रिया