जिल्ला प्रशासन कार्यालयको नयाँ आदेशसँगै आजदेखि उपत्यकामा के गर्न पाइन्छ, के गर्न पाइँदैन ?


काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आजदेखि लागू हुने गरि नयाँ आदेश जारी गरेका छन्।

शुक्रबार बसेको तीन जिल्लाका सीडीओको संयुक्त बैठकपछि जारी आदेशमा शुक्रवार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म नयाँ आदेश लागु हुने भनिएको छ । यस अघि निषेध गरिएका केही गतिविधिहरूलाई पनि खुकुलो पारिएको छ।

सार्वजनिक यातायातमा जोर बिजोर हट्यो, निजी र ट्याक्सीमा कायमै

आदेशमा उपत्यकामा शुक्रवार रातिदेखि भने बस, माइक्रोबस र टेम्पो जस्ता सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली हटाउने निर्णय भएको छ भने निजी सवारी र ट्याक्सीहरुमा भने सो व्यवस्था कायमै रहेको छ ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सवारी साधनभित्र स्यानीटाइजरको व्यवस्था गर्नुपर्ने लगायतका मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ। त्यस्तै लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा यात्रुहरूलाई सम्भव भएसम्म एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाइनुपर्ने छ।

परीक्षाहरु संचालन हुन पाउने

जनस्वास्थ्यका मापदण्ड पालना गर्दे वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा र चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा सञ्चालन गर्न पाइनेछ ।

विद्यालय, फिल्म हल माघ मसान्तसम्मै बन्द

विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न भने पाइने छैन । कोभिड–१९ विरुद्धको खोप लगाउन भने तोकिएको दिन विद्यार्थीहरुले विद्यालयमा गएर लगाउन सक्नेछन् ।

यस्तै आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन जस्ता मानिसहरूको भिड हुने गतिविधि तथा सिनेमाहल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थक्लब, जीमखाना, रङ्गशाला, सङ्ग्रहालय लगायतका क्षेत्रमा भने प्रतिबन्ध लगाइएको छ।

अन्तर्राष्ट्रियस्तरका खेलकुद संचालन गर्न अनुमति

अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताको हकमा सीमित दर्शक राखी स्वास्थ्य मापदण्डको पूर्ण पालना गराइ जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा सञ्चालन गर्न सकिने जनाइएको छ ।

कुनै पनि सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को लक्षण देखिए अनिवार्य रूपमा पाँच दिन क्वारन्टीनमा बस्न र पाँचदिन पछि पुनः परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा फर्कन भनिएको छ।

नियम उल्लंघन गर्दा यस्तो छ जरिवाना

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश अवज्ञा गर्ने व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२५ बमोजिम कारबाही गरी एक महिनासम्म कैद वा १०० रुपैयाँ जरिवाना गर्न सक्ने उल्लेख छ।

यस्तो आदेश उल्लङ्घन गरेका कारण कसैको ज्यान गएमा ऐनको दफा १०४ बमोजिम सजाय हुने छ। उक्त दफामा नियतपूर्वक यस्तो कसुर गर्नेलाई अधिकतम दश वर्षसम्म कैद तथा एक लाख रुपैयाँ जरिवाना र हेलचेक्र्याइँपूर्वक गरेको भए तीन वर्ष कैद तथा ३० हजार जरिवाना गर्न सकिने उल्लेख छ।

प्रतिक्रिया