इलोन मस्कको स्पेस एक्स रकेट चन्द्रमामा ठोक्किने बाटोमा


एजेन्सी – इलोन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनीले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामा ठोक्किएर विस्फोट हुने बाटोमा अघि बढेको छ। फाल्कोन ९ बूस्टर नाम दिइएको उक्त रकेट सन् २०१५ मा प्रक्षेपण भएको थियो।

आफ्नो लक्ष्य पूरा गरेपछि पुनः पृथ्वीमा फर्कन आवश्यक इन्धन अभाव भएपछि यो रकेट अन्तरिक्षमै रहिरह्यो। खगोलसास्त्री जोनाथन म्याकडोवेलले बीबीसी न्यूजलाई बताएअनुसार चन्द्रमामा अनियन्त्रित रूपमा रकेट बज्रिन पुग्ने अहिलेसम्मकै यो पहिलो ज्ञात घटना हुनेछ।

तर यसको असर ठूलो नहुने उनले बीबीसी न्यूजलाई बताए। अन्तरिक्षमा मौसमसम्बन्धी भूउपग्रह पठाउने कामको सुरुवातका लागि प्रक्षेपण भएको यो रकेट आफ्नो लक्ष्य पूरा भएपछि सात वर्षदेखि पृथ्वीको उच्च कक्षमा अलपत्र थियो।

भविष्यमा अन्य ग्रहहरूमा पनि मानव बस्ती बसाउने मस्कको व्यापारिक अन्तरिक्ष अन्वेषण कार्यक्रम स्पेस एक्सकै एउटा कामका लागि यो रकेट पठाइएको थियो। सन् २०१५ यता उक्त रकेटलाई पृथ्वी, चन्द्रमा र सूर्यका फरक फरक गुरुत्वाकर्षण शक्तिले तानेर राखेका थिए। अमेरिकाको हार्वर्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापक म्याकडोवेल फरक फरक गुरुत्वाकर्षण शक्तिका कारण यसले तय गर्ने बाटो ‘विश्रृङ्खल’ भएको बताउँछन्।

‘यो मृत अवस्थामा छ र गुरुत्वाकर्षणको नियम मात्रै पछ्याइरहेको छ,’उनले भने। आफ्नो लक्ष्य पूरा गरेपछि पृथ्वीमा फर्कन आवश्यक ऊर्जा नभएका कारण अन्तरिक्षमै छोडिएका उपकरणहरूका लाखौँ अन्तरिक्ष फोहोरहरूकै रूपमा यो रकेट पनि रहेको थियो।

‘पछिल्ला दशकहरूमा ५० वटा जति ठूला वस्तुहरूले अन्तरिक्षमा आफ्नो बाटो बिराइसकेका छन्। यस्तो त्यसअघि पनि कैयौँ पटक भएको हुनसक्छ, तर हामीले जानकारी नपाएका हुन सक्छौँ। यो पहिलो पुष्टि भएको घटना हुनेछ,’ प्राध्यापक म्याकडोवेलले भने।

कसरी पत्ता लाग्यो ?
फाल्कोन ९ को सम्भावित दुर्घटनाबारे पत्रकार एरिक बर्जरले सबैभन्दा पहिले अन्तरिक्षसम्बन्धी वेबसाइट आर्स टेक्निकामा र तथ्याङ्क विश्लेषक बिल ग्रेले आफ्नो ब्लगमा उल्लेख गरेका थिए।

यो रकेट आगामी मार्च ४ मा चन्द्रमाको सतहमा पुगेर ठक्कर खाएपछि विस्फोट हुनेछ।

‘यो पछाडिपट्टि रकेटको इन्जिन भएको चार टनको खाली धातुको ट्याङ्की जस्तो मात्रै हो। तर कल्पना गर्नूस् त ५,००० माइल प्रतिघण्टाको वेगमा आएको वस्तु एउटा चट्टानमा बज्रँदा पक्कै खुशी त लाग्दैन नि,’ प्राध्यापक डोवेलले भने।

रकेटले चन्द्रमाको सतहमा एउटा सानो खाडल बनाउनेछ।

 

प्रतिक्रिया