
सेती नदी जलविद्युत आईपीओ निष्कासन गर्ने तयारीमा
काठमाडौं – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाले आईपीओ निकाल्ने निर्णय गरेको छ।
आयोजनाको प्रवर्द्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले आयोजना प्रभावित र अन्यका लागि आइपिओ जारी गर्ने निणर्य गरेको हो।
भिजन लुम्बिनीले बनाउन लागेको आयोजना नदी जलप्रवाहमा आधारित छ। माछापुच्छ्रेको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ। पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२.५ मेगावाट क्षमताका दुईवटा टर्वाइनमा जोडिनेछ।
उत्पादित विद्युत ४ किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युतप्राधिकरणको सवस्टेसनमा जम्मा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना छ। ५ अर्ब रुपैयाँ लगानी रहेको आयोजनामा ३ अर्ब ५० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्। बाँकी रकम प्रवर्द्धक कम्पनी तथा स्थानीयले लगानी गर्नेछन्। स्थानीय ६०० जनाले आयोजनामा लगानी गरेका छन्।
आयोजनाले उत्पादन गरेको विद्युत वर्षायामको ६ महिना ४।८० रुपैयाँ र हिउँदमा ८-४० रुपैयाँ प्रतियुनिटमा विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता गरेको छ।



कागजपत्र |
