आज नेपाली टोपी दिवस


काठमाडौं । नयाँ वर्ष २०२२ को पहिलो दिन आज (शनिबार) नवौं नेपाली टोपी दिवस पनि मनाइँदैछ ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कास्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।

तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

आज नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी नेपाली टोपी दिवस मनाउने गरेका छन् ।

प्रतिक्रिया