दैनिक १० हजार स्मार्ट लाइसेन्स छापिँदै, सेवाग्राहीको हातमा पुग्न अझै कति समय लाग्ला ?


काठमाडौं – यातायात व्यवस्था विभागले झन्डै नौ महिनालेखि अभावका कारण वितरण गर्न रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्रता दिएको छ। लाइसेन्स कुरेर बसेका लाखौँ सर्वसाधारणले चाँडै कार्ड प्राप्त गर्ने गरी काम अघि बढाइएको विभागले जनाएको छ।

त्यसका लागि १८ घण्टासम्म छपाइको काम हुने गरी गरी दैनिक सातदेखि दश हजार लाइसेन्स छाप्ने प्रबन्ध मिलाइएको छ। कोरोना भाइरस महामारी र लकडाउनलाई कारण देखाउँदै २०७६ चैतदेखि तीन महिनाका लागि नयाँ चालक अनुमति पत्रको आवेदन बन्द गरिएको थियो।

महामारीको दोस्रो लहर सुरु भएपछि गत वैशाख १६ गतेदेखि पुनः ठप्प पारिएको आवेदन कार्तिक ७ गतेदेखि खुला गरिएको भए पनि सहज रूपमा लाइसेन्सको छपाइ हुन सकेको छैन।

सवारी चालक अनुमतिपत्रका लागि परीक्षा उत्तीर्ण गरेर बसेका चार लाख ५० हजारभन्दा बढी चालक परीक्षा उत्तीर्ण गरेपछि दस्तुर तिरेको रसिद वा एक वर्षसम्म कायम रहने परीक्षणकालीन लाइसेन्सका भरमा सवारी चलाउन बाध्य छन्।

लाइसेन्स छपाउनका लागि आवश्यक पर्ने कार्ड सकिएको भन्दै अत्यावश्यक प्रयोजनका लागि आवेदन दिएका बाहेकलाई लाइसेन्स वितरण बन्द गरेको विभागले कार्ड खरिदमै झन्डै एक वर्ष लगायो। पछिल्लो समय १४ लाख कार्ड प्राप्त गरी त्यसको प्राविधिक परीक्षण सकिएसँगै विभागले कार्ड छपाइको कार्यलाई तीव्रता दिएको छ।

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार करिब सात लाख लाइसेन्स छपाइको काम तत्काल अघि बढाउनुपर्ने अवस्था रहेको अनुमान गरिएको छ। त्यसबाहेक नयाँ आवेदन अनि परीक्षा उत्तीर्ण गरेकाहरूको सङ्ख्या पनि बढ्दो क्रममा छ। ुुहिजोबाट सुरु भएको लाइसेन्स छपाइको कार्युु सम्पन्न भएपछि देशभरिका २१ वटा यातायात कार्यालयमा पठाइनेछ र त्यहाँबाट सेवाग्राहीको हातमा पुग्नेछ।

प्रतिक्रिया