भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते


भक्तपुर – भक्तपुरबाट तीव्र गतिमा काठमाडौंतर्फ जादै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् ।

मध्यपुरथिमि नगरपालिका-४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा४च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । सो कारले गुडिरहेको अर्को ट्याक्सीलाई समेत ठक्कर दिँदा कारमा सवार धनुषा उपमहानगरपालिका-१५ घर भई काठमाडौं महानगरपालिका शान्तिनगर बस्ने वर्ष २२ का अभिषेक शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

दुर्घटना भएलगत्तै घाइते भएका तीनै जानलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा शाहको गए राति मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घाइते भएका छन् । घाइते घिसिङको मध्यपुर अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको उनले जानकारी दिए ।

डिभाइडरमा ठोक्किएर पुनः ट्याक्सीसँग ठोक्किएपछि घाइते भएका ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल ललितपुर बस्ने ३२ वर्षीय भीमसेन खत्री भने राति उपचारपछि घर फर्किएको उनले जानकारी दिए । डिभाइडरमा ठोक्किएको कार पूर्णरुपमा क्षति भएको छ ।

प्रतिक्रिया