

सर्लाहीमा बुधबार साँझसम्म निषेधाज्ञा

सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि ईश्वरपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनीलगायतका कार्य भइरहेकाले स्थितिलाई नियन्त्रणमा दिन मंगलबार अपरान्ह ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि ईश्वरपुर नगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जानकारी दिएको छ ।
‘२०७८/०९/११ को राति भएको सवारी दुर्घटनासम्बन्धी विषयलाई लिएर यस जिल्लाको ईश्वरपुर नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पतिको तोडफोड, आगजनी लगायत गरिरहेको विरोध प्रदर्शनका कारण सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मिति २०७/०९/१३ गते अपरान्ह ३ बजेदेखि मिति २०७८/०९/१४ गते साँझ ७ बजे सम्म देहायका स्थानमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायको क्षेत्रहरुमा निषेधाज्ञा आदेश जारी गरिएको छ,’ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आदेश उल्लघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मिले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत सूचित गरिन्छ ।’

