संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रचण्डको महाआपत्ति, मन्त्रीहरू सरप्राईज, कांग्रेस सोचमग्न


काठमाडौं– संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएकोप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाआपत्ति जनाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश पार्टीमा बिना छलफल आएको भन्दै प्रचण्डले घोर आपत्ति जनाएका छन्। संवैधानिक परिषदको बैठकमा प्रचण्डको निर्देशनमा नै सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि मन्त्रिपरिषदको बैठक राखी अध्यादेश जारी गर्ने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

उनले प्रचण्डलाई पेलेरै अघि बढेपछि नेकपामा नयाँ तरङ्ग आएको छ। तर मन्त्रिपरिषदको बैठकमा सहभागी भएका केही मन्त्रीहरू भने अध्यादेशबारे आफैं सरप्राइज भएका छन्। कतिपयले अध्यादेशबारे कुनै छलफल नभएको प्रतिक्रिया जनाउन थालेका छन्। त्यसमध्येका एक हुन्, कृषिमन्त्री घनश्याम भुसाल। भुसालले भनेका छन्,‘अध्यादेशबारे छलफल भएको थिएन।’

यता मंगलबार बिहान परिषदको बैठकमा सहभागी भएका प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति अहिले ५ बजेको बैठकमा सहभागी हुने या नहुने भन्ने विषयमा सोचमग्न भएका छन्। प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा परामर्श गरेको आधारमा मात्र सभापति बैठकमा सहभागी हुने या नहुने भन्ने विषयको टुंगो लाग्न सक्ने जनाएका छन्।

प्रतिक्रिया