

बालुवाटार जग्गा प्रकरणमा कांग्रेस उपसभापति गच्छादार अहिलेसम्म पक्राउ नपर्नुको कारण

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएका नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छादार सर्वदलीय बैठकमा अघिल्लो साता बालुवाटारमा देखिए।
अख्तियारले मुद्दा दायर गरी पक्राउका लागि विशेष अदालतले प्रक्रिया अगाडि बढाइसकेका गच्छादर तैपनि अहिलेसम्म बाहिर रहनुको कारण भने साधारण नै रहेको छ।
प्रक्रियागत रुपमा अदालतले हाजिर हुनका लागि गच्छादारलाई म्याद बुझाउनुपर्ने हुन्छ। विशेष अदालतका तर्फबाट उक्त प्रक्रिया पूरा भइसकेको छ। तर, गच्छादार आफैंले म्याद नबुझेका कारण उनी अहिलेसम्म जोगिएका हुन्।
अदालतले १९ फागुन २०७६ मा सम्बन्धित जिल्ला अदालतमार्फत् पठाए पनि अझैसम्म गच्छदारले म्याद बुझेका छैनन्। १० महिना पूरा भइसके पनि म्याद बुझाउन अदालत असफल थियो। तर अब ताकेता गर्न थालिएको छ।
विशेष अदालतका रजिस्टार अशोक क्षेत्रीले गच्छदारको म्याद सम्बन्धित अदालतले बुझाएको जानकारी प्राप्त नभएको बताएका विवरण सतहमा आएका छन्। अदालतले म्याद बुझाउनका लागि जिल्ला अदालतल सुनसरीलाई ताकेता भने गरिरहेको क्षेत्रीको भनाइ छ ।
ललिता निवास प्रकरणमा आरोपित गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६मा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ताको करिब एक महिनापछि गच्छदारको म्याद स्थायी ठेगाना सुनसरी पठाइएको थियो ।
सुनसरी दुहवी नगरपालिका–२ स्थित उनको स्थायी ठेगानामा जिल्ला अदालत सुनसरीमार्फत म्याद पठाइएको हो । म्याद पठाएसँगै कोरोना कहर सुरु भएपछि अदालतका काम कारबाही केही समय बन्द भएका थिए।
पछिल्लो समय कोरोना महामारीका कारण अदालतको काममा पनि सुस्तता आएकाले गच्छादारले उम्किने मौका पाएका हुन्। योबाहेक मुख्य प्रतिपक्षी दलका उपसभापति रहेका कारण राजनीतिक दबाबले समेत काम गरेको बताइएको छ।
तर यसै प्रकरणमा गच्छादार भौतिक योजना मन्त्री रहेका बेला सचिव रहेका तत्कालिन अख्तियार प्रमुख दिप बस्न्यातलाई भने विशेष अदालतले थुनामा पठाइसकेको छ।

