

कांग्रेस अधिवेशन : प्रदेश २ को नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौं – नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको मतदान अहिले बिहानदेखि सुरु गरिएको छ ।
हिजो दिउँसो १ बजेदेखि मतदान गराउने तय गरिएकोमा मतपत्र छाप्ने काम छिटो सकिएपछि साढे ९ बजेदेखि नै मतदान सुरु गराइएको हो ।
जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान सुरु भएको छ । पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेश २ कांग्रेस सभापतिमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव र नेता विमलेन्द्र निधि तथा शेखर कोइराला पक्षबाट रामसरोज यादव चुनावी मैदानमा छन् । दुई पक्षबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।
हिजो निर्वाचन समितिले दुई पक्षका प्रतिनिधि बोलाएर मतदानको विषयमा राखेको छलफलमा कृष्ण यादव पक्षले राति नै मतदान हुनुपर्ने र रामसरोज यादव पक्षले बिहीबार मतदान गराउनु पर्ने अडान लिएपछि अधिवेशन स्थलमा दुई पक्षका कार्यकर्ता कुटाकुट गरेका थिए ।

