


नयाँ भेरियन्टपछि सीमामा कडाइ, खोप कार्ड देखाएर मात्रै प्रवेश

मोरङ – भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि नेपालगन्जस्थित जमुनाह नाकालगायत सीमामा उच्च सतर्कता अपनाइएको छ ।
कोरोना संक्रमणअघि पूर्वी नाकामा आउजाउ निर्वाध थियो । संक्रमणको त्रास सुरु भएपछि आउजाउ निषेध गरिएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका निरीक्षक होम अधिकारीका अनुसार भारतीयलाई खोप कार्ड र भोट कार्डका आधारमा प्रवेश दिइएको छ । उनले भने, ‘खोप कार्ड नभएकालाई नाकामा एन्टिजेन गरेर घर पठाइन्छ ।’
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार सातामा ३ हजार ६ सय ७४ जना भारतीय र २ हजार १ सय २५ जना नेपाली नागरिक प्रवेश गरेका छन् ।
२ हजार ८ सय ६ जना नेपाली र २ हजार २ सय ७९ भारतीय यो अवधिमा बाहिरिएका छन् । नेपालीलाई पनि खोप कार्ड र नागरिकताका आधारमा भारतमा प्रवेश दिने गरिएको छ ।
विराटनगरस्थित रानी नाकाबाट भारतीय नागरिकलाई प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ । भारतबाट नेपालतर्फ आउने प्रत्येक व्यक्तिलाई स्वास्थ्य जाँचपछि मात्रै नेपालतर्फ प्रवेश दिने व्यवस्था गरिएको छ ।
रानी नाकास्थित हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले दैनिक भारतबाट आउने सर्वसाधारणको स्वास्थ्य जाँच गर्दै आएको बताए ।
‘स्वास्थ्य जाँच गरिएकोमध्ये दैनिक एक सयभन्दा बढी व्यक्तिको एन्टिजेन परीक्षण गर्दै आएका छौं,’ उनले भने, ‘पछिल्लो एक सातामा भारतको मदरासबाट आएका विराटनगरको बरगाछीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।’
कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई रेडक्रसको एम्बुलेन्समा कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा पठाउने गरेको यादवले बताए । उपचार केन्द्रमा भर्ना हुन नचाहनेलाई कागज गराएर निजी गाडीमा होम आइसोलेसनमा पठाउने गरेको उनको भनाइ छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले रानी नाकामा भारतबाट आउने प्रत्येक व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको बताए ।
‘भारतीय नागरिकलाई नेपाल प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेका छौं,’ उनले भने, ‘प्रत्येक व्यक्तिलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न स्थानीय तहमार्फत जनचेतना अभियान सञ्चालनको व्यवस्था गरेका छौं ।’
यसका साथै जिल्लावासीलाई खोप लगाउने व्यवस्थाका लागि पहल गरिरहेको बताए । प्रजिअ दाहालले रंगेली नाकामा पनि हेल्थ डेस्क राख्नका लागि संघीय र प्रदेश सरकारसँग पहल गरिरहेको बताए ।

