एमसिसी सम्झौताबारे सर्वदलीय बैठक सहमति जुटाउन असफल, किन गएन एमाले ?


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको सर्वदलीय बैठक अमेरिकी सहायता निकाय मिलेनीयम च्यालेन्ज कर्पोरेशन सम्झौता (एमसीसी)बारे साझा धारणा तय गर्न असफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो (आइतवार) अपराह्ण बसेको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई बोलाइएको थियो। एमसीसीबारे थप छलफल गर्ने निष्कर्षसहित बैठक समापन भएको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकमा सरकारका प्रवक्ता कार्कीले एमसिसी संसदबाट अघि बढाउनुपर्ने प्रस्ताव राख्दा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एसका महासचिव बेदुराम भुसालले ठाडै अस्वीकार गरेका थिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सरकारका प्रवक्ता कार्की र काँग्रेस नेताहरु रामचन्द्र पौडेल तथा रामशरण महतले एमसिसी पास गर्ने भनेपनि सत्ता गठबन्धनै माओवादी र नेकपा एसका नेताहरुले संशोधनबिना पास गर्न नहुने बताएको जानकारी दिए ।

बैठकपछि प्रेम सुवालले भने , ‘यदि माओवादी र नेकपा एसको अडान कायमै रहन्छ भने एमसिसी पास हुँदैन । उनीहरुले अडान फेरे भने जनतालाई जवाफ दिनुपर्छ । गठबन्धन नै भत्किन्छ र नयाँ बन्छ भने त्यो हाम्रो सरोकार होइन ।’

सुवालका अनुसार सत्तारुढ जसपाका अध्यक्ष उपेन्द्र यादव मौन बसेका थिए भने बाबुराम भट्टराईले एमसिसी पास गर्नुपर्ने बताएका थिए ।

एमालेले बैठकमा हुने छलफलको विषयबारे जानकारी नभएको र औपचारिक निमन्त्रणा नआएका कारण बैठकमा सहभागी नभएको बताएको छ।

‘सर्वदलीय बैठक बोलाउँदा एजेन्डाबारे द्विपक्षीय छलफल हुने चलन छ। खालि हाम्रो अध्यक्षलाई फोन गरेर बैठक छ मात्रै भन्नुभयो,’ एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेको अनुपस्थितिबारे भने।

‘बैठकअघि राष्ट्रिय एजेन्डाबारे छलफल नभएको, हामीलाई एजेन्डाबारे जानकारी पनि नभएको र बोलाए जस्तो मात्रै गरेको कारणले हामी नगएको हो।’

प्रतिक्रिया