
चौतारा साँगाचोकगढी नगरपालिका आफ्नै भवनमा
सिन्धुपाल्चोक – भाडा र सापटी घरमा बसेर प्रशासनिक काम गर्दै आएको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । एक समारोहकाबीच नगरपालिकाका प्रमुख अमानसिं तामाङले सोमबार सो भवनको उद्घाटन गरेका हुन् ।
लामो समय भाडाको घरबाट सेवा सञ्चालन गरिरहेको नगरपालिकाले पछिल्लो समय तत्कालीन कृषि विकास कार्यालयको भवनबाट प्रशासनिक कामकाज सञ्चालन गरिरहेको थियो । “हामी निर्वाचित भएर आउँदा आफ्ना लागि बस्ने कोठासमेत थिएन ।” नगरप्रमुख तामाङले भने, “अब हामीलाई जनताको सेवा गर्न झन् धेरै सहज हुनेछ ।” अहिले नगरपालिकाले सबैजसो वडा कार्यालयको भवनसमेत निर्माण गरिसकेर आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको उनले बताए ।
नगरपालिकाको आफ्नै स्रोतबाट रु सात करोड २५ लाख ४९ हजार खर्च गरी सो भवन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेलले बताउनुभयो । विसं २०७४ बाट निर्माण सुरु गरी तीन वर्षमा सम्पन्न गरिएको हो । नगरपालिकाका धेरैजसो शाखाका सेवा नयाँ भवनबाट प्रदान गरिने छ भने शिक्षा, पशु सेवा, कृषि सेवालगायत सेवा भने स्थान अभावका कारण पुरानै भवनबाट प्रदान गरिनेछ ।
आगलागी पीडितलाई राहत
हेलम्बु गाउँपालिकाको इचोकमा भएको आगलागी पीडितलाई नेकपा (एमाले)ले राहत सामग्री वितरण गरेको छ । नेकपा (एमाले) हेलम्बु गाउँपालिका कमिटीले सहयोग सङ्कलन गरी प्रतिपरिवार नगद रु १३ हजारका दरले तीन परिवारलाई ३९ हजार वितरण गरिएको एमालेका नेता एवं गुड ह्याण्ड्स नेपालका अध्यक्ष दावा ह्योल्मोले जानकारी दिए ।
घेवाका लागि आवश्यक एक लाख बराबरको पूजा सामग्रीसमेत हस्तान्तरण गरिएको ह्योल्मोले जानकारी दिनुभयो । एमाले बागमती प्रदेश कमिटी सदस्य हस्त पण्डितले पीडित परिवारलाई सो सामग्री हस्तान्तरण गरेका थिए। गत मङ्सिर ६ गते साँझ इचोक सुर्सिङ झाँक्रीटोलमा आगलागी हुँदा तीन बालकको ज्यान गएको थियो । ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा मकैको ढोड र खोस्टामा आगो सल्किँदा आगलागी भएको थियो ।



कागजपत्र |
