आईपीयूको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा स्पेन प्रस्थान


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १४३औँ सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गरेका छन् ।

सभामुख सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ८स्५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेन प्रस्थान गरेका छन् ।

सभामुखसँग प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी, राष्ट्रिय सभा सदस्य प्रमीलाकुमारी र अगमप्रसाद वान्तता राई पनि गएका छन् ।

यसै गरी प्रतिनिधिमण्डलमा सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखको प्रमुख स्वकीय सचिव अर्जुन खत्री के।सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी छन् ।

अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) र स्पेनको संसद्को आयोजनामा यही मङ्सिर १० देखि १४ सम्म स्पेनको म्याड्रिडमा १४३औँ आईपीयू सम्मेलन हुँदै छ । सम्मेलनमा सभामुख सापकोटाले २८ नोभेम्बरका दिन बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामुखको टोली सम्मेलन सकेर यही मङ्सिर १६ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।

आईपीयूको सभामा नेपालका सभामुख सापकोटालाई सहभागी नगराउन आयोजकलाई आग्रह गरेको थियो । सशस्त्र द्वन्द्वको समयमा भएको एक हत्याको घटनामा सभामुख सापकोटाविरुद्ध प्रहरीले गरेको अनुसन्धान तामेलीमा रहेको भन्दै जवाफदेही निगरानी समूहले स्पेन सरकारले सापकोटालाई देश प्रवेशमा प्रतिबन्ध लगाउन र अन्तर्राष्ट्रिय अपराधको विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत अनुसन्धान सुरु गर्न आग्रह गरेको थियो। त्यसका बाबजुध सापकोटा स्पेन प्रस्थान गरेका हुन् । उनीमाथी सन् २००५ अप्रिलमा काभ्रेका अर्जुनबहादुर लामाको हत्या आरोप छ ।

प्रतिक्रिया