
‘पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनको भेटिएन प्रसारण उपकरण
काठमाडौं – ‘पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनले अहिलेसम्म कुनै प्रसारण उपकरण नल्याएको भेटिएको छ ।
सूचना तथा प्रसारण विभागले प्रसारण अनुमतिपत्र र पूर्वप्रसारण अनुमति समेत नलिई टेलिभिजन उद्घाटन भएपछि एक समिति बनाएर अध्ययन गरेको थियो । उक्त टेलिभिजनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गरेका थिए ।
विभागका निर्देशक सुदीप भट्टराई संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा अहिलेसम्म पतञ्जलि टेलिभिजन खोल्न कुनै तयारी नै नगरेको उल्लेख छ ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले टेलिभिजनले अहिलेसम्म स्टुडियो नै तयार नभएको पाइएको बताए । अनुमतिपत्रविना नै प्रसारण उपकरणहरु ल्याएको र जडान गरेको भेटिएमा जफत हुने कानूनी व्यवस्था छ । तर, भवन मात्रै उद्घाटन गरेर ‘टेलिभिजन’ भनिएको सरकारी निश्कर्ष छ ।
‘अनुमतिविना उपकरण ल्याएको र टेलिभिजन चलाएको पाएपछि कारवाही गर्नुपर्ने देखिएन,’ महानिर्देशक हमालले भने । गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेतले ‘टेलिभिजन’ उद्घाटन गरेका थिए ।
भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा टेलिभिजन उद्घाटन भएपछि यसको वैधताबारे प्रश्न उठेको थियो । मण्डिखाटारमा रहेको टेलिभिजनको कार्यालयमा आइतबार नै सरकारको अध्ययन समितिले आकस्मिक निरीक्षण गरेको थियो ।



कागजपत्र |
