१० दिनभन्दा बढीको मौसम आकलन गर्न प्रयोग भएका प्रविधि भित्र्याउन पहल


काठमाडौं – तीन दिनको मात्र मौसम पूर्वानुमान गर्दै आएको जल तथा मौसम विज्ञान विभागले १० दिनभन्दा बढी समयको मौसम आकलन गर्न प्रयोग भएका प्रविधि भित्र्याउन पहल थालेको छ ।

त्यसका लागि विभागले बेलायतको ‘यूके मेट अफिस’ सँग सहकार्य गर्न लागेको छ । विकसित मुलुकले एक साताभन्दा बढीसम्म मौसम पूर्वानुमान गर्दै आएका छन् ।

स्कटल्यान्डको ग्लास्गोमा भएको राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकको संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप २६) का दौरान विभागको उच्चस्तरीय प्राविधिक टोलीले विश्वभर विश्वसनीय मौसम पूर्वानुमान (वेदर फरकास्ट) मा अग्रणी संस्था र प्राविधिकहरूसँग विकसित मुलुकले प्रयोग गर्दै आएको प्रविधि (मौसमी मोडल) भित्र्याउन अग्रसरता लिएको हो ।

विभाग तर्फबाट कोप २६ मा सहभागी उपमहानिर्देशक तथा जलवायु महाशाखा प्रमुख जगदीश्वर कर्माचार्यले ‘युके मेट अफिस’ सँग उनीहरूले मौसम पूर्वानुमानमा प्रयोग गर्दै आएको ‘ग्लोबल मोडल’ प्रदान गर्न आग्रह गरिएको बताए ।

पछिल्ला वर्षहरूमा नेपालमा मौसमजन्य विपद्का घटनामा बढेका छन् । विभागको नेतृत्वले पहिलो पटक जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) मा भाग लिएको हो । विभागका महानिर्देशक सरजुकुमार वैद्य, उपमहानिर्देशकद्वय कमाचार्य र अर्चना श्रेष्ठ तथा हावापानी विश्लेषण शाखा प्रमुख कँडेलले कोपमा भाग लिएका थिए ।

प्रतिक्रिया