

खाद्यपछि दूधको मूल्य वृद्धि गर्ने तयारीमा सरकार

काठमाडौं – पछिल्लो समय सबै खाद्य बस्तुको मूल्य वृद्धि भएसँगै सरकारले दूधको पनि मूल्य वृद्धि गर्ने तयारी गरेको छ ।
दूग्ध विकास बोर्डले केन्द्रीय दुग्ध उत्पादक सहकारी र निजी क्षेत्रको प्रस्ताव अनुसार नै दूधको मूल्य वृद्धि गर्न लागेको हो ।
दूग्ध विकास संस्थानका महाप्रबन्धक रुद्धप्रसाद पौडेलले दूधको मूल्य वृद्धिका लागि छलफल भएको बताए ।
पौडेलले भने, ‘निजी क्षेत्र र दूध उत्पाकहरु पनि मूल्य वृद्धिका लागि तयार भएका छन् । कृषकले दूध उत्पादन गर्दा कति खर्च लाग्छ भन्ने हिसाब गरेर नै नयाँ मूल्य तोक्नका लागि छलफल भइरहेको छ । कृषिका लागि आवश्यक पर्ने सबै बस्तुको हाल मूल्य वृद्धि भएको छ ।
त्यसैको अनुपातमा नयाँ मूल्य निर्धारणका लागि छलफल भइरहेको छ । लागत हेरेर दूध प्रतिलिटर ५ देखि १० रुपैयाँसम्म मूल्य वृद्धि हुने अवस्था आएको छ । दूध उत्पादनको लागत वृद्धि अझ धेरै भएको रहेछ भने १० रुपैयाँभन्दा पनि धेरै समेत मूल्य वृद्धि हुनसक्छ ।’
दूग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि छलफल गरिरहेको पौडेलले बताए । दूग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले मूल्य वृद्धिका लागि छलफल भइरहेको बताए ।

