काठमाडौं-बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने
काठमाडौं – कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौं-बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच बिहिवार मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाडौं-बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिएका हुन् ।
भेटघाटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्याण्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै लुम्बिनीमा रहेको मेटरनेटी अस्पतालका लागि सहयोग गर्न आग्रह गरे ।
यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाइल्याण्डको भिसाका लागि सहजीकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैङ्कक जाँदा सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गरे ।
भेटवार्ताकै क्रममा मन्त्री आलेले नेपाल- थाइल्याण्डबीच पुरानो ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप सुदृढ बनाइराख्न दुवै देशका तर्फबाट अधिकतम प्रयास गरिनुपर्नेमा जोड दिए ।