भारतको पहिलो समलिङ्गी न्यायाधीशमा सौरभ कृपाल सिफारिस


नयाँदिल्ली – भारतको दिल्ली उच्च अदालतले पहिलो पटक समलिङ्गी न्यायाधीश सिफारिस गरेको छ । सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता सौरभ कृपाललाई समलिङ्गी न्यायाधीश बनाउन सिफारिस गरिएको हो । यदि वकिल सौरभले सो पद सम्हालेमा उनी भारतका पहिलो समलिङ्गी न्यायाधीश बन्ने बीबीसीमा खबर छ ।

भारतमा न्यायाधीश नियुक्ति प्रक्रियामा कलेजियमहरुले सिफारिस गर्छन् भने त्यसपछि मात्र संघीय सरकारमार्फत औपचारिक रुपमा नियुक्ति स्वीकार्ने गरिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आगामी हप्तामा समलिङ्गी न्यायाधीशको रुपमा वरिष्ठ अधिवक्ता कृपाललाई स्वीकार्ने संकेत देखाएको बीबीसीले उल्लेख गरेको छ।

यसअघि समलिङ्गी न्यायाधीशको लागि कृपालको नाम पटकपटक केन्द्र सरकारमा पठाइए पनि सरकारले उनको पहिलो सिफारिसमा रोक लगाएको बताइएको छ । तर लामो समयपछि यस पटक भने सरकारले उनलाई समलिङ्गी न्यायाधीशको रुपमा नियुक्त गर्न सक्ने बताइएको छ ।

लैङ्गिक अल्पसंख्यकको यौन कृयाकलापलाई अपराध मानिदै आएको भारतको मान्यतालाई सन् २०१८ मा त्यहाँको सर्वोच्च अदालतले खारेज गरेको थियो । अधिवक्ता कृपालको नेतृत्वमा अघि बढेको सो कदमलाई लैङ्गिक अल्पसंख्यकले ठूलो जीत मानेका थिए ।
केहि समय संयुक्त राष्ट्रसंघसँग समेत काम गरेका कृपालले भारतको सर्वोच्च अदालतमा करिब २० वर्षसम्म कानुनको अभ्यास गरेका छन् । कृपालका बुवा बीएन कृपाल सेवानिवृत्त भारतका मुख्य न्यायाधीश हुन् । एजेन्सी

प्रतिक्रिया