श्वेतपत्र जारी गर्ने तयारीमा सर्वोच्चका १९ न्यायाधीश


काठमाडौं – न्यायपालिका शुद्धीकरणका लागि भन्दै करिब तीन सातादेखि आन्दोलनमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । बेञ्च बहिष्कारसहितका कार्यक्रम ल्याएर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गरिएको विषयलाई स्पष्ट पार्न र न्यायाधीशहरूले निरन्तर बेञ्च बहिष्कार गरिरहँदा जनतामाझ सही सूचना प्रवाह हुन नसकेको भन्दै श्वेतपत्र जारी गर्ने तयारी गरिएको एक न्यायाधीशले बताए ।

आइतबार पनि असन्तुष्ट न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । बन्दी प्रत्यक्षीकरणका केही रिटमाथि सुनुवाई भएपनि अन्य मुद्दाहरु हेर्न नभ्याइने सूचीमा राखिएका छन् । केही न्यायाधीशको पेसीको मुद्दाको स्थितिमा हेर्न नभ्याइने उल्लेख गरिएको छ । आइतबारको छलफलबाटै श्वेतपत्र जारी गर्ने सम्बन्धमा निर्णय हुनसक्ने एक न्यायाधीशले बताए ।

आइतबारकै छलफलबाट श्वेतपत्र जारी गर्दै थप आन्दोलनमा उत्रने, इजलासमा फर्कने वा १८ जना न्यायाधीश बसेर सर्वोच्चको पूर्ण वैठक राख्नेजस्ता विषयमा निष्कर्ष निकालिने सर्वोच्चका न्यायाधीशको भनाइ छ । सर्वोच्चको पूर्ण बैठक डाक्नुपर्ने अवस्था आएमा मुख्य रजिष्ट्रार र रजिष्ट्रारहरुसँग पनि छलफल गर्ने र निर्णय लिने एक न्यायाधीशले बताए ।

प्रतिक्रिया