मुडे-चरिकोट सडक अलपत्र पार्ने ठेकेदारविरुद्ध खबरदारी गर्ने ६ अगुवा पक्राउ


दोलखा – विगत ६ वर्षदेखि मुडे-चरिकोट सडक अलपत्र पार्ने ठेकेदारविरुद्ध खबरदारी गर्ने ६ अगुवा पक्राउ परेका छन् ।  चाँडै सडक निर्माण गर्न दबाब दिइरहेका दोलखावासी माथि प्रहरी हस्तक्षेप भएको हो।

जिल्ला प्रहरी कार्यालय दोलखाले आज मुडे चरिकोट सडक निर्माण अलपत्र भयपछि आन्दोलनमा उत्रिएकाहरूलाई नियन्त्रणमा लिएको हो, । पक्राउ पर्नेहरूमा मुडे चरिकोट सडक निर्माण संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्के सहसंयांजक,रमेश खतिवडा, सचिब गोकर्णप्रसाद भण्डारी ,सदस्यहरू श्रिजनकुमार घिमिरे,श्याम खतिवडा, अर्जुन कार्की र राजन बस्नेत रहेका छन् ।

सडक समयमै नबनाएको भन्दै दोलखावासीले हरेक सवारीसाधनमा भौतिक पूर्वधार मन्त्री,सचिव र सडक विभागका महानिर्देशकको फोटो राखेर विरोध गरेका थिए।

पक्राउपछि पनि उनीहरुले प्रहरी परिसरभित्रै नाराजुलुस गरेका छन्। उनीहरुले जिल्ला प्रहरी कार्यालय दोलखाको परिसरमा ‘छिटो सडक निर्माण गर’ जस्ता नारा लगाएका हुन्।

यस अघि सम्बन्धित ठेकेदारको फोटो गाडीमा राखेर विरोध गरेपनि सडक निर्माणमा चासो दिइएको थिएन। यो पटक भने भौतिक पूर्वधार मन्त्री, सचिव र सडक विभागका महानिर्देशकको फोटो राखेर विरोध गरेका हुन्।

उनीहरुले भौतिक पूर्वधार मन्त्री रेणुकुमारी यादव, सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटो टाँसेका हुन्। अलपत्र सडक निर्माणमा कुनै निकायको चासो नदेखाएको भन्दै बाध्य भएर मन्त्री,सचिव र महानिर्देशकको फोटो टासेर दबाब दिन सुरु गरिएको स्थानीय दिपक तामाङको भनाई छ ।

बहिरो सरकार, सरकार हाम्रो सडक कहिले बनाउने र ठेकेदारलाई किन संरक्षण गरेको लगायतका प्रश्न राखेर सार्वजनिक बसमा पोष्टर टाँसेर विरोध भइरहेको छ।

सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी हैदर-शंकरमाली-सुनौलो खिम्ती जेभीले २०७२ सालमा ठेक्का पाएको हो । ७९ करोडमा निर्माण सम्झौता भएको सडकको सोही वर्षदेखि काम सुरु गरेको थियो।

प्रतिक्रिया