अनेरास्ववियूद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध चक्काजाम
रुपन्देही – रुपन्देहीको बुटवलमा अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध चक्काजाम गरेका छन्।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानैदेखि बुटवलमा चक्काजाम गरेका हुन्।
पहिलो चरणको आन्दोलनको रुपमा बिहीबार बिहान ९ बजेदेखि राजमार्ग बन्द गरिएको बताउँदै अनेरास्ववियू रूपन्देहीका सचिव प्रकाश पराजुलीले तत्काल इन्धनको मूल्यवृद्धि फिर्ता नलिए चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषणा गर्दै जाने बताए ।
प्रत्येक साताजस्तो इन्धनको मूल्य बढाएर जनताको ढाड सेक्ने काम गरेकोले मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिन आफूहरु बाध्य भएको पराजुलीले बताए ।
निगमले बुधबार रातिदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ।
मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ। त्यस्तै मट्टीतेल र डिजेलको मुल्य १ सय १९ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै खानापकाउने ग्याँसको मूल्य ७५ रुपैयाँ बढाएर १५७५ पुगेको छ ।