घोराही उपमहानगरमा तेलमा व्यापक घोटाला, पेट्रोल पम्पबाट नगद असुली!


काठमाडौं – दाङको घोराही उपमहानगरपालिकामा इन्धनमा व्यापक घोटला भएको पाइएको छ। उपमहानगरपालिकाको रा १ ग ११ नम्बरको गाडीमा २६ असार २०७७ देखि २० साउनसम्म (एक महिना पनि भएको छैन) साढे सात सय लिटर इन्धन प्रयोग भयो।

उक्त गाडीमा २६ गते १ सय ५० लिटर, साउन २ गते १ सय ५० लिटर, साउन ६ गते १ सय ५०, साउन ११ गते १ सय ५० र साउन २० गते १ सय ५० लिटर इन्धन हालिएका कुपन फेला परेको छ।

तर यि कुपनहरु सबै फर्जी हुन्। कारण यो अवधिमा उक्त गाडी बिग्रिएर थन्किएको थियो, चालु अवस्थामै छैन। बिग्रेको गाडीमा तेल हालेको देखिएपछि उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र कर्मचारीहरुको चर्को विरोध भयो।

बिग्रेकै गाडीमा इन्धन प्रयोग भएको जानकारीपछि मेयर चौधरी आफैंले छानबिन समिति गठन गरे। उपमहानगरपालिका–१४ का वडाध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।

छानबिन समितिले आफ्नो जिम्मेवारी पूरा गरेर मेयर चौधरीलाई बुझाएको ३ महिना बढी भयो। अनुसन्धान सकेर छानबिन समितिले बुझाएको प्रतिवेदनमा घोराही उपमहानगरका नाममा इन्धनको चरम दुरुपयोग भएको तथ्य खुलेको छ।

तर, मेयर चौधरीले आफ्नो मान्छेहरुलाई जोगाउने नियतले छानबिन समितिको प्रतिवेदनलाई वास्तै गरेका छैनन्। ‘११ नम्बरको बिग्रेको गाडीमा इन्धन हालिएको भन्ने आशंकापछि छानबिन समिति गठन भयो,’ छानबिन समितिका एकजना सदस्यले भने, ‘जबकी यो गाडीले बिग्रेको अवधिमा पनि तेल हालेको पाइएको हो।’

लकडाउन अवधिभर उपमहानगरका दुईवटा गाडी रा १ ग १७ र १३ नम्बरका गाडीले एउटै मितिमा लगातार इन्धन भरेको कुपन काटे। तर रा १ ग १७ नम्बरको गाडी पनि त्यो बेला चालु अवस्थामै थिएन।

छानविन समितिका ती सदस्यका अनुसार उक्त गाडीका चालक नवीनबिक्रम शाही बिदामा थिए। ‘यो गाडीका चालक लकडाउन अवधिभर बिदामा बसेको देखिन्छ,’ छानबिन समितिको प्रतिवेदनमा भनिएको छ, ‘तर उनले चलाउने गाडीले लकडाउनमा लगातार इन्धन हालेको देखिन्छ।’

यी मात्रै हैन, घोराही उपमहानगरपालिकाका गाडीहरुले अस्वाभाविक रुपमा इन्धन प्रयोग गरेको पाइएको छ। फोहोर बोक्ने गाडीदेखि एक्सकाभेटर, जेसिबीले समेत अस्वाभाविक तेल प्रयोग गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

घोराही उपमहानगरपालिकाको जेसिबीले प्रतिघण्टा १० लिटर तेल खपत गर्दै आएको थियो। तर उक्त जेसिबीमा प्रतिघण्टा जम्मा ८ लिटर मात्रै इन्धन खपत गर्ने गरेको छानबिन समितिको निष्कर्ष छ। खपत गरिएको तेलको कुपनका आधारमा जेसिबिमै प्रतिघण्टा दुई लिटर इन्धन घोटाला भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी एक्सकाभेटरमा पनि प्रतिघण्टामा दुई लिटर इन्धन घोटाला भएको तथ्य फेला छ। एक्सकाभेटरले इन्धन भरेको कुपनका आधारमा प्रतिघण्टा १५ लिटर इन्धन भर्ने गरेको देखिन्छ। तर, एक्सकाभेटरमा प्रतिघण्टा १३ लिटर मात्रै इन्धन खपत हुने गरेको छानविन समितिका ती सदस्यले जनाए।

फोहोर बोक्ने गाडीमा प्रतिट्रिपर ९ लिटर तेल घोटला
घोराही बजारको फोहोर संकलन गरेर ल्याण्डफिल साइटमा पुर्याउने गाडीहरुमा प्रयोग भएको इन्धन खर्च पनि अस्वभाविक देखिएको छ। यि गाडीहरुले प्रतिट्रिपर २० लिटरका दरले इन्धनको कुपन पाउँदै आएका छन्।

तर यी गाडीहरुमा खपत हुने इन्धनको परिमाण भनेको जम्मा ११.३० लिटर मात्रै हो। यसरी फोहोर बोक्ने गाडीहरुमा पनि प्रतिट्रिपर ८.७० लिटरका दरले इन्धन घोटाला भएको छानविन समितिले जनाएको छ।

उपमहानगरको ट्याक्टर देखाएर निजी गाडीमा तेल
आन्तरिक तथा खरिद व्यवस्थापन शाखा प्रमुख बाबुराम पन्थीले रा १ द १२० नम्बरको ट्याक्टरमा १ सय ५० लिटर इन्धन भरेको कुपन पेश गरे। जबकी यो ट्याक्टरको तेल ट्यांकीको क्षमता नै १ सय ५० लिटर इन्धन (डिजेल) अट्ने होइन रहेछ।

छानविन समितिका ती सदस्यका अनुसार उनले १ सय लिटर इन्धन उनले आफ्नो निजी गाडीमा प्रयोग गर्ने गरेको पाइएको छ। अर्जुन आचार्यको नाममा रहेको बा १९ च ५९०९ नम्बरको निजी गाडीमा तेल प्रयोग भएको पुष्टि छानबिन समितिले गरेको छ।

छानबिन समितिका ती सदस्यका अनुसार पन्थीले निजी प्रयोजनका लागि अर्घाखाँची जाने क्रममा गाडीमा इन्धन भर्ने गर्थे। ‘उहाँ (पन्थी) ले इन्धन भरेको भनेर ट्याक्टरको गलत विवरण पेश गर्नुभएको पाइएको छ,’ छानबिन समितिका ती सदस्यले भने, ‘तर उहाँले निजी गाडीमा इन्धन भर्नुभएको हो।’

पेट्रोल पम्पबाट नगदै असुली
उपमहानगरको ट्याक्टरमा इन्धन भरेको भनेर झूठो विवरण पेश गरेर निजी गाडीमा इन्धन भरेका जिन्सी शाखा प्रमुख पन्थीले त पेट्रोल पम्पबाटै नगद समेत असुली गर्ने गरेको समेत खुलेको छ

उनले विभिन्न गाडीहरुको तेलको कुपन पेश गरेर पेट्रोल पम्पहरुबाट २ लाख ५० हजार रुपैयाँ नगद असुलेको छानबिन समितिले जनाएको छ। पन्थीले रा १ ग १७, रा १ ग ११ र रा १ ग १३ नम्बरका एक्सकाभेटर तथा जेसिबीलगायतका गाडीहरुमा हालेको तेलको कुपन पेश गरेर विभिन्न पेट्रोल पम्पहरुबाट १५ हजारदेखि १ लाख रुपैयाँसम्म नगद बुझेको समितिले पुष्टि गरेको छ।

‘उहाँ (पन्थी) ले मौखिक सोधपुछका क्रममा आफूले रकम लिएको स्वीकार गर्नुभयो,’ छानबिन समितिका ती सदस्यले भने, ‘तर उहाँले आफूले उक्त रकम संस्थागत प्रयोजनमा खर्च भएको भनेर जवाफ दिनुभएको छ।’

पन्थीले उपमहानगरको लेखा परीक्षणका क्रममा खानपिन र भ्रमण खर्च गर्नुपर्ने भएकाले रकम लिएको बताएका छन्। तर यो रकम निकासाको नियत घोटाला नै पुष्टि भएपछि पन्थीलाई उक्त रकम फिर्ता गर्न लगाइएको ती सदस्यले बताए।

उनलाई ९५ हजार क्रिजल पेट्रोल पम्पको नाममा र १ लाख ५५ हजार रुपैयाँ अरुणोदय पेट्रोल पम्पका नाममा जम्मा गर्न लगाइएको हो। उनको अहिले कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयमा सरुवा भएका छन्।

इन्धनमा मासिक १७ लाखसम्म घोटाला
स्थानीय तह स्थापना पश्चातको ३ वर्ष २०७७ सम्म इन्धनमा चरम घोटाला भएको देखिन्छ। घोराही उपमहानगरपालिकामा इन्धनमा मासिक लाखौँ रकम घोटाला भएको छानविन समितिको प्रतिवेदनले देखाउँछ।

घोराही उपमहानगरपालिकाका गाडीहरुमा २०७७ साउनमा मात्रै २३ लाख ७२ हजार ४ सय ६१ रुपैयाँ इन्धन खर्च भएको छ। यो अनियमितता छानविनका लागि समिति बनेपछि गरिएको निगरानीपश्चात अर्को महिना भने यो इन्धन खर्च मासिक १६ लाख ३३ हजार २ सय ८६ रुपैयाँले कमी आयो।

छानविन समितिको प्रतिवेदन अनुसार २०७७ असोज र कात्तिक गरी दुई महिनाको कुल खर्च १४ लाख ५८ हजार ३ सय ५० रुपैयाँ मात्रै भयो। प्रतिमहिनाको भाग लगाउँदा जम्मा ७ लाख २९ हजार १ सय ७५ मात्रै पर्न आउँछ। २०७७ कात्तिकमा भने इन्धन खर्च झनै कम आयो। अघिल्लो साउन महिनाको खर्च भन्दा कात्तिकमा १७ लाख ७६ हजार बढी रकम घटेको छ।

मेयर नरुलाल चौधरी

यता घोराही उपमहानगरले भने इन्धनमा घोटाला भएको भन्न नमिल्ने बतायो। लकडाउनका बेला गाडीहरु बढी चलेको र इन्धन पनि बढी खपत भएको हनुसक्ने त्यहाँ कार्यरत कर्मचारीहरुको भनाइ छ। ‘उहाँहरु (छानविन समिति) ले कसरी प्रतिवेदन तयार पार्नु भयो? यो उहाँहरुको कुरा हो। हामीलाई केही थाहा छैन्।

प्रतिक्रिया