

मुख्यमन्त्री राईले कात्तिक ३० मा विश्वासको मत लिने !

विराटनगर — प्रदेश १ को प्रदेश सभा यही कात्तिक ३० गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयद्वारा जारी सूचनामा आगामी कात्तिक ३० गते बैठक बस्ने जनाइएको हो ।
उक्त दिनको बैठकमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी गरेको समेत जनाइएकाे छ ।
कात्तिक १५ गते बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा गर्ने घोषणा गरेपछि सभामुखले प्रदेशसभाको अर्को बैठक कात्तिक २३ गतेका लागि बोलाएका थिए । तर, मुख्यमन्त्री राईले विश्वासको मत लिएरमात्र मन्त्रीमण्डल विस्तार गर्ने बताएपछि प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी विशेष कारणले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको थियो ।
मुख्यमन्त्री राईले विश्वासको मत लिनुभन्दा दुई दिन अघि नै प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने भएकोले विश्वासको मत लिने विषयमा आन्तरिक तयारीका विराटनगर आइपुगेका छन् ।

