
पोल्याण्डद्वारा बेलारुसतर्फको सीमामा सयौँ आप्रवासीलाई अवरोध, लुकासेन्कोले उक्साएको आरोप
बेलारुस – पोल्याण्डले बेलारुससँगको पूर्वी सीमामा आफ्नो देश प्रवेश गर्न खोजेका कयौँ आप्रवासीलाई रोकेको जनाउँदै हजारौँ अझै त्यसतर्फ आइरहेको बताएको छ ।
भिडिओ सामाग्रीहरूमा सयौँ मानिसहरू फलामे तारले बारिएको सीमानजिक देखिन्छन् जसमा केहीले उक्त अवरोध पार गर्दै अघि बढ्न खोजेको देखिन्छ ।
पोल्याण्डको सरकारले सोमवार एउटा आपत्कालीन बैठक बोलाउँदै उक्त क्षेत्रमा १२ हजार फौज खटाएको छ ।
पोल्याण्डले बेलारूसलाई आप्रवासीहरूलाई सीमातर्फ धकेलेको आरोप लगाउँदै त्यसलाई ‘शत्रुतापूर्ण कार्य’ भनेको छ ।
को हुन् ती आप्रवासी ?
पोल्याण्ड, लिथुआनिया र लाट्भियाले पछिल्ला महिनामा बेलारुसबाट गैरकानुनी रूपमा आफ्नो देश प्रवेश गर्न खोज्ने आप्रवासीहरूको सङ्ख्या बढेको बताएका छन्। ती धेरैजसो मध्यपूर्व र एसियाबाट आएका आप्रवासीहरू हुन्।
युरोपेली सङ्घले बेलारुसका तानाशाही राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काले आफूविरूद्ध लगाइएको प्रतिबन्धविरूद्ध आप्रवासीको त्यस्तो लहरलाई सहजिकरण गरेको आरोप लगाएको छ। आप्रवासी र शरणार्थीहरूलाई रोकेकोमा आलोचित बनेको पोल्याण्डले एउटा ठूलो सङ्ख्यालाई फलामे तारले घेरेर राखेको छ ।
मङ्गलवार बिहानैबाट बेलारुसतर्फकै एउटा सीमा नाका कुज्निका बन्द गरिने पोलिस बोर्डर गार्डले जनाएको छ। उक्त क्षेत्रमा शून्य डिग्री सेल्सिअसभन्दा तल पुग्ने ठन्डीकाबीच सीमामा आप्रवासीहरूको असहज अवस्था देखिन्छ र उनीहरूको स्वास्थ्यको चिन्ता भइरहेको छ ।
उनीहरू पोल्याण्डबाट निकालिँदा र बेलारूसले फिर्ता लिन नचाहँदा पोल्याण्डको जङ्गलमा उनीहरू अलपत्र परेका छन्। चिसोकै कारण केहीको मृत्युको भएको छ ।
एक आप्रवासीले त्यस्तो यात्राको योजना सामाजिक सञ्जालमा बनेको बताउँदै उनीहरूलाई बेलारूसले उक्साएको सङ्केत गरे ।
एक इराकी आप्रवासी बर्वा अहमदले बीबीसीसँग भने, ‘मानिसहरूलाई (एलेक्जेन्डर लुकाशेन्काले) प्रयोग गरिरहेको थाहा छ तर उनीहरूको कुनै भविष्य छैन ।’ वार्साले भनेको छ- बेलारूसले मानिसहरूलाई निस्कन बाध्य पार्ने कदम चालेर असहज अवस्था सिर्जना गर्न खोजेको छ ।
जर्मनीका आन्तरिक मामिला मन्त्रीले युरोपेली सङ्घलाई एउटा आग्रह गर्दै पोल्याण्डको सीमा सुरक्षित राख्ने एकीकृत कदम चाल्न आग्रह गरेका छन् ।
यसअघि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बेलारुसका अधिकारीहरूले जबरजस्ती आप्रवासी लहर सिर्जना गर्न खोजेको आरोप लगाएका थिए ।
त्यसलाई बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काले अस्वीकार गरेका छन् ।



कागजपत्र |
